कालेश्वर : जहाँ मागेको पूरा हुन्छ

समाचार

समय: बिहानी सवा ६ बजे, स्थान: कालेश्वर, सकुन्दा पर्वत (ललितपुर)
एकाबिहानैको हावाको बेग २५ सय मिटर उचाईमाथि फनफनी घुमिरहेको छ । ७३ वर्षीय रामभक्त महर्जन कालेश्वर महादेव देख्नेबित्तिकै भावविह्वल भए । घर बस्दा कटकटी दुखिरहने उनका गोडा मन्दिर पुगेपछि तङ्रिएका छन् ।

उमेरसँगै सुगरले सताइएका ज्येष्ठ नागरिक रामभक्त झन्डै २० मिनेटको ठाडो उकालो चढेर डाँडाको टुप्पामा पुगेका हुन् । ‘यो ठाउँमा आउन पाएपछि सबै पीडा बिर्सन्छु,’ पारिलो घाममा ढाँड सेकाइरहेका उनी भन्छन्, ‘बुढेसकाल लाग्यो, धेरै रोग छन् । घरमा प्रायः बिरामी भइरहन्छु । तर, यहाँ आएपछि सबै रोग निको हुन्छ ।’

ललितपुर प्याङगाउँका रामभक्त एघार वर्ष हुँदा पहिलोपटक कालेश्वर दर्शन गन आएका थिए । २०१५ सालदेखि अहिलेसम्म ‘कतिपटक मन्दिर

आए ?’ उनलाई हेक्का छैन । ‘बुबासँग आउँथें, त्योबेला हामी चापागाउँबाटै हिँडेर आउँथ्यौं,’ अहिले मन्दिर फेदसम्मै गाडी पुगेको देखेका रामभक्त सम्झन्छन्, ‘केही डाँडाको टुप्पो शिवलिंगमात्रै थियो, यो मन्दिर हाम्रै पहलमा बनेको हो ।’

साँझ सातै बजे सुतिसक्ने उनी अझै ‘मन्दिर जाने’ भनेपछि हुरुक्कै हुन्छन् । ‘कुलदेवता’ भएकाले प्याङगाउँबासीको अगाढ आस्था जोडिएको उनले सुनाए । ‘यो हाम्रो मात्रै सम्पति हैन, पूरै राष्ट्रको हो,’ कालेश्वर मन्दिर जिर्णोद्वार समिति ज्येष्ठ सदस्यसमेत रहेका रामभक्त भन्छन्, ‘मन्दिरकै कारण यहाँ पर्यटन प्रवद्र्धन भइरहेको छ ।’

किम्वदन्तीअनुसार प्राचीनकालमा ‘कालपुरुष’ नामक व्यक्तिले सकुन्दा पर्वतमा शिवलिंग स्थापना गरेका थिए । उनी घरघरा र मसान खोलाको संगमस्थल वैतर्णी नदीको जल र चनढुंगामा चन्दन घोटेर शिवलिंगमा चढाउँथे ।

एकदिन शंखु (अहिलेका प्याङगाउँ)बासीले गिम्दी र आश्राङको संगमस्थल देउताखोलामा लहराबाट दूध चुहिरहेको देखे । त्यो लहरा पछ्याउँदै जानेक्रममा शंखुबासीले सकुन्दा पर्वतमा शिवलिंग फेला पारे । जुन, कालपुरुषले स्थापना गरेका थिए । पछि, शिवलिंगलाई शंखुबासी कुलदेवताका रूपमा पुज्न थाले । जुन, अघापि छँदैछ ।

कालपुरुषको घोर तपस्तापछि पौष शुक्ल मध्यरात महादेव प्रकट भए । कालपुरुषलाई वरदान प्राप्त भयो, ‘यो मन्दिर तिम्रै नामबाट प्रख्यात हुनेछ ।’ महादेव दर्शनपछि मूर्ति स्थापनासहित उनले घरघरा, मसान र वैतर्णी खोलाको जल चढाउने र चनढुंगाको चन्दन घोटेर लगाउने गर्न थाले । आज उनै कालपुरुषको नामबाट ‘कालेश्वर’ प्रसिद्ध छ ।

घटनाक्रम २०७१ तिरको हो । अक्षय तृतीयको दिन पारेर पुरानो मन्दिर भत्काइयो । अचानक बेगसाथ हावाहुरी चल्यो । मान्छे नै उडाउँलाझैं एकासि आएको आँधीहुरीले सबै हतास भए । अहिल्यै पानी पर्लाजस्तै गरी आकाश कालो न कालो भइदियो । दिउँसै अन्धकार भइदिँदा कसैले केही सोच्नै सकेनन् । ‘तर, एकैछिनपछि आकाश खुल्दै आयो, मौसम सफा भयो,’ कालेश्वर मन्दिर जिर्णोद्वार समिति अध्यक्ष चरसुन्दर महर्जन

‘त्यो दिन’ सम्झन्छन्, ‘अचम्मै भयो, हामीले दैवीशक्तिको आभाष त्यतिबेला गर्न पायौं ।’

तत्कालीन चापागाउँ गाविस अध्यक्षसमेत रहेका महर्जनकै सक्रियतामा थुम्कोमा अहिले सुन्दर महादेव मन्दिर बनेको छ ।

नयाँ मन्दिर बनाउनकै लागि पुराना भत्काउनेक्रममा ‘असोचनीय क्षण’ आइपरेको प्याङगाउँबासी अहिले पनि सम्झिरहन्छन् । ‘हामी सम्पूर्ण प्याङगाउँबासीकै आस्था र पहलकै कारण मन्दिर सम्भव भएको हो,’ महर्जनले सुनाए, ‘यसमा गाउँले र स्थानीय तहको पनि योगदान भुल्नु हुँदैन । अब स्थानीय हो, यसको प्रचारप्रसार र संरक्षणमा उहाँहरूको पनि उत्तिकै महŒवपूण भूमिका रहन्छ ।’

हुन त, कालेश्वर प्याङगाउँबीको ‘कुलदेवता’ हो । तर, अब भने धार्मिक गन्तव्यका साथै साझा आस्थाको थलो बनिसकेको छ । ‘हामीले बनाएर सुम्पेका छौं, संरक्षण गर्ने कर्तव्य स्थानीय तह र गाउँलेको हो,’ समिति अध्यक्ष महर्जनको जोड छ, ‘मन्दिर अझ बढी प्रचारप्रसार हुन सकेको खण्डमा स्थानीय जिविकोपार्जन झनै उकासिने विश्वास गरेका छौं ।’

मजर्हनका अनुसार मासिक दुई दिन प्याङगाउँस्थित ‘आँग छें’ अर्थात् ‘देवस्थल’मा औंशी चतुर्थी बिहान र राति कालेश्वरको ‘विशेष पुजा’ हुन्छ । जहाँ गुठीयारबाहेक अरु जान पाइँदैन ।

त्यसो त, चैत पूर्णिमाको दिन कालेश्वर डाँडामा ठुलो मेला लाग्छ । विभिन्न ठाउँबाट आएका श्रद्धालु रातभर जागा बसेर महादेवको आराधना गर्ने परम्परा छ । कालेश्वरमा सतीदेवीको कण्ठ खसेको धार्मिक किम्दन्ती पनि छ । त्यसैले कालेश्वर महादेव स्थापना श्रीस्वस्थानी व्रतकथाअघि नै भएको हुनसक्ने विश्वास गरिएको छ ।

ललितपुर महांकाल गाउँपालिकामा कालेश्वरलगायत मानिखेल, चन्दनपुर, ठूला दुर्लुङ र बुखेल पर्छन् । यी गाउँको केन्द्र हो, गोटीखेल । स्थानीय तहको सहयोग आशा गरिरहेको कालेश्वर विशेषतः धार्मिक गन्तव्य हो । मूल मन्दिर बनाउन जिर्णोद्वार समितिले प्याङगाउँलेबाट सहयोग रकम संकलन गरेको हो ।

सहयोगी दाताका कारण मन्दिर निर्माण सम्पन्न भए पनि परिसरमा ब्लक छाप्ने काम भने बाँकी नै छ । समिति अध्यक्ष महर्जनका अनुसार अब केही दिनभित्रै ब्लक छाप्ने काम सकिनेछ । त्यसका लागिसमेत सहयोग संकलन भइरहेको उनी बताउँछन् ।

‘सरकारी निकायको सहयोगबिनै पनि हामीले मन्दिर स्थापना ग-यौं, यसमा सिसवन र प्याङगायउँबसीको योगदान महŒवपूर्ण छ,’ महर्जन भन्छन्, ‘यहाँ हामीले वर्षमा एकपटक आएर पुजा गर्नेमात्रै हो, यसको विकासमा महांकाल गाउँगापालिकालाई नै विशेष भूमिका खेल्न मेरो आग्रह छ ।’

जो–कसैलाई विश्वास नलाग्न सक्छ । चापागाउँको प्याङगाउँमा सुंगुर–भेंडा पालिँदैन । धिमे र काँ बाजा बजाइँदैन । प्याङगाउँले आफ्नो भाषा फरक बताउँछन् । उनीहरूका अनुसार कालेश्वर मन्दिरमा संकलित भेटीमध्ये आधा मन्दिर वरिपरि नै लुकाउने चलन छ ।

‘यस्तो किन त ?’ समिति अध्यक्ष महर्जनको जवाफ हुन्छ, ‘आधा भेटी भगवानकै नाम चढाउने परम्परा छ, आधाचाहिँ मन्दिरकै संरक्षण कार्यमा प्रयोग गर्छौं ।’

कालेश्वर मन्दिर पुग्न गोटीखेलबाट ६ किलोमिटर उकालो हिँड्नुपर्छ । तर, अहिले मौसम सफा भएकाले मन्दिर फेदसम्मै गाडी पुग्छ । गाडीबाट थुम्कोमा रहेको मन्दिर पुग्न झन्डै २० मिनेट उकालो छ ।

वर्षायाममा भने गोटीखेलबाटै पदयात्रा गर्न उपयुक्त देखिन्छ । आउन जान झन्डै ६ घण्टा पदयात्रा गरेपछि गोटीखेल वा सिसवन ‘होमस्टे’मै बास बस्दा पनि फरक पर्दैन । नत्र, सिसवन बास बस्नेगरी भोलिपल्ट बिहानै मन्दिर दर्शन गरेर फर्कंदा झनै राम्रो हुन्छ ।

कालेश्वर देब्रेतिर अग्लो बुर्जा डाँडा छ । जहिल्यै आफूभन्दा माथि बस्ने पार्वतीको गुनासोपछि त्यो डाँडा बनाइदिएको धार्मिक कथन रहिआएको छ । जहाँबाट विभिन्न हिमशृंखला अवलोकन गर्न सकिन्छ । कालेश्वर पदमार्गमा चट्टानमाथि अड्केको विशाल चट्टान देख्न सकिन्छ । कालपुरुषले यही चट्टानमा चन्दन घोटेर कालेश्वर महादेवमा चढाउन थालिएको धार्मिक विश्वास रहिआएको छ ।

कालेश्वर मन्दिरकै कारण महांकाल गाउँपालिकाअन्तर्गत सिसवन गाउँमा ‘होमस्टे’ अवधारणा विकास भएको हो ।
स्थानीय होमस्टे सञ्चालक दीपक थोकरका अनुसार मन्दिर दर्शनकै लागि भनेर श्रद्धालु कालेश्वर मन्दिर आउनेक्रम बढेको छ । ‘पहिलेभन्दा अहिले धेरै राम्रो भइरहेको छ,’ उनी भन्छन्, ‘मन्दिर नभएको भए यहाँ होमस्टे फितलै हुन्छ ।’

कुल २९ घरपरिवार रहेको सिसवन गाउँ ‘होमस्टे’को विशेषता मकैको ढिंडो र सिस्नु हो । जसलाई यहाँको ‘ब्रान्ड’ मानिन्छ । अत्यधिक मात्रामा सिस्नो पाइने भएकैले गाउँ नाम ‘सिनवन’ रहन गएको स्थानीय बताउँछन् । गाउँमा अहिले ‘होमस्टे’का लागि नयाँ घर बनाउनेक्रम बढेको छ । rajdhanidaily

Leave a Reply

Your email address will not be published. Required fields are marked *