यसरी बन्दैछ नेपालकै पहिलो मोटर गुड्ने आधुनिक सुरुङ मार्ग (भिडिओ)

समाचार

झन्डै ३ किलोमिटर लामो नागढुङ्गा सुरुङ मार्ग निर्माणले गति लिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण सम्पन्न हुँदा नेपालकै पहिलो आधुनिक मोटर गुड्ने सुरुङ मार्ग हुनेछ।काठमाडौंको बलम्बुस्थित तोतीपाखा र धादिङको सिस्नेखोला जोड्ने २.६९ किलोमिटर सुरुङ निर्माणपछि नेपालीले नागढुङ्गाको जामबाट पार पाउने छन्। उकालो र घुम्ती बाटोमा मालवाहक सवारी साधनका कारण लामो जाम हुने गरेको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

‘सुरुङले बाटोको दुरी साढे २ किलोमिटरमात्र घटाउने हो’, नागढुङ्गा सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले भने, ‘यो बाटोमा गाडी बिग्रियो भने घन्टौं जाम हुन्छ। त्यसलाई घटाउने छ।’हाल नागढुङ्गा सडक १० डिग्री उकालोमा भएका कारण सवारी साधनले स्पिड लिन सकेका थिएनन्। अब सुरुङ मार्गमा ३ डिग्रीको स्लोप हुनेछ। जसका कारण सवारी साधनको स्पिड बढ्नेछ।८ मिटर फराकिलो दुई लेनको मुख्य सुरुङ मार्गसँगै अहिले इमरजेन्सी सुरुङको समेत निर्माण कार्य भइरहेको छ। मुख्य सुरुङ साढे २ सय मिटर र इमरजेन्सी सुरुङ ५ सय मिटर खनिएको छ।

शाक्यका अनुसार लकडाउनका बेला सुरुङ निर्माण जारी थियो। तर सुरुङ पुग्ने सडक निर्माणको कार्यमा केही समय रोकावट आएको थियो।’अब हामीले एप्रोच रोड निर्माणलाई पनि गति दिएका छौं,’ शाक्यले भने, ‘धादिङतर्फ सुरुङ मार्ग प्रवेश बिन्दुमा ६ लेनको सडक बन्नेछ।’ जसमध्ये २ लेन पुरानो सडकमा जोडिनेछ।कुनै गाडी (सडक दस्तुर लिने ढोका) टोल गेटबाट सुरुङ मार्गमा प्रवेश गर्न पास भएन भने पुरानो सडकमा जान अन्डरपास पनि बन्दैछ,’ शाक्यले भने।

नागढुंगातर्फ सुरुङ मार्ग प्रवेशका बिन्दुसँगै अन्डरपास निर्माणलगायतका काम भइराखेका छन्। धादिङको सिस्नेखोला तर्फ अहिलेसम्म मुख्य सुरुङको प्रस्थान बिन्दु खोलिएको छैन। तर भित्रबाट खन्ने काम भइराखेको छ। शाक्यका अनुसार सिस्नेखोलातर्फ प्रस्थान गर्ने ढोका खोल्न भित्र काम भैराखेको छ। अब ६० मिटर खन्न बाँकी छ।सुरुङ निर्माणको ठेक्का जापानको हाज्मा कम्पनीले पाएको छ। हाज्माले सुरुङ निर्माणका लागि मेगाटेक कम्पनीलाई स्थानीय साझेदार बनाएको छ। त्यस्तै बाहिरी कामका लागि स्वच्छन्द निर्माण सेवालाई लगाएको छ।

‘नेपाली इन्जिनियरहरूले काम गरिराखेका छन्,’ शाक्य भन्छन्, ‘जापानले यसको व्यवस्थापन गरेको छ। नेपाली इन्जिनियरले धेरै सिक्न पाएका छन्। टेक्निकल काम पनि नेपालीले सिकेका छन्।’२९ वर्षदेखि सडक विभागमा काम गरिरहेका शाक्य सवारी साधन प्रवेश गर्ने सुरुङ निर्माणबाट धेरै सिक्न पाएको बताउँछन्।’हामीलाई अब प्राविधिक रूपमा के हेर्नुपर्छ, के व्यवस्थापन गर्नुपर्ने रहेछ र प्राविधिक रूपमा के हेर्नुपर्छ भन्ने सिकेका छौं,’ उनले भने।

सुरुङ मार्गमा कार्यरत जिओलोजिस्ट ताराप्रकाश सिलवाल नागढुंगा क्षेत्रमा सुरुङ बनिरहेको ठाउँको ढुंगा बलियो रहेको बताउँछन्। सान्जेन हाइड्रोपावरको सुरुङमा काम गरिसकेका सिलवाल सुरुङ मार्गमा भित्रतर्फ गज्जबले फलामको सपोर्ट दिइएको बताउँछन्। सुरुङमा बलियो ढुंगा भएको ठाउँमा थोरै सपोर्ट र कमजोर भुगोल भएका ठाउँमा धेरै सपोर्ट दिइन्छ।सुरुङ भित्रबाट पहरामा खोपेर २ मिटर लामो रड हालिएको छ। अहिले फलाम राखेर सपोर्ट दिइएको ठाउँमा पछि ढलान हुनेछ। जसले गर्दा सुरुङ मार्ग बलियो र राम्रो देखिनेछ।

क्लास बी र सी को ढुंगामा खासै सपोर्ट आवश्यक पर्दैन,’ सिलवाल भन्छन्, ‘क्लास डीको ढुंगा भेटिए सपोर्ट दिइन्छ।’ सुरुङ मार्ग खन्दै गर्दा हरेक पटक पहरामा भेटिएका ढुंगाहरूको परीक्षण गर्ने गरिएको उनले बताए।सुरुङ मार्ग प्रवेश गर्ने स्थानमा सडक प्रयोग गरेको दस्तुर तिर्ने गेट हुनेछ। त्यहाँ निश्चित शुल्क तिरपेपछि मात्र सुरुङमा प्रवेश गर्न पाइनेछ,’ उनले भने।सरकारले अहिलेसम्म दस्तुर निर्धारण गरेको छैन। सुरुङको मर्मत सम्भारका लागि आवश्यक हुने जति रकम उठ्ने गरी दस्तुर कायम गर्ने तयारी सरकारको छ।

शाक्यका अनुसार सुरुङ सुरक्षित हुनेछ। सञ्चालनमा आएपछि २४ सै घन्टा सिसिटिभी मनिटरिङ हुनेछ। एम्बुलेन्स र फायर बिग्रेड स्ट्यान्डबाइ राखिनेछ। सुरुङभित्र अक्सिजन पुर्‍याउन १५ वटा जेट फ्यान राखिने छन्। सामान्यत: ५०० सय मिटरभन्दा भित्र सुरुङका लागि अक्सिजनको व्यवस्था गर्नुपर्ने हुन्छ।

‘यो अन्तर्राष्ट्रिय स्तरको व्यवस्था हो। यो वाध्यकारी हो’, शाक्य भन्छन्, ‘अक्सिजनभित्र लैजाने र भित्र भएका विषाक्त ग्यास बाहिर निकाल्ने काम हुन्छ।’

बिग्रिए वा भत्किए पनि छिट्टै बनाउने टोली तयारी अवस्थामा बस्नेछ। मुख्य सुरुङमा कुनै दुर्घटना भए इमरजेन्सी टनेल प्रयोग हुनेछ। हरेक ३ सय ७५ मिटरको दुरीमा इमरजेन्सी सुरुङ र मुख्य सुरुङ जोडनेछ। दुर्घटनाका बेला उद्धारका लागि इमरजेन्सी टनेल प्रयोगमा आउनेछ। दुई समानान्तर सुरुङ ३० मिटरको दुरीमा रहेका छन्।

काठमाडौंको बलम्बुमा कंलकी रोडसँग जोड्ने स्थानमा फ्लाइओभर निर्माणको कार्य हुँदैछ। त्यहाँ बन्ने १ सय ३० मिटरको फ्लाइओभरबाट सुरुङ हुँदै आएका सवारी साधन कलंकी पुग्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *