ती ओली, यी देउवा

समाचार

३१ असार, काठमाडौं । ‘प्रकृतिका हरेक प्राणीहरू अद्वितीय हुने भएकाले एकसँग अर्कोको तुलना गर्नु उचित हुँदैन ।’ यो भनाइ हो पूर्व राजा वीरेन्द्रको । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालले आफ्नो आत्म संस्मरणमा वीरेन्द्रको यो भनाइसहितको प्रसङ्ग उल्लेख गरेका छन् ।

प्रकृति फरक छ । बगैंचामा रहेका फूलहरू एकअर्कासँग प्रतिस्पर्धा गर्दैनन् । उनीहरू केबल फूल्छन् मात्र । तर सर्वश्रेष्ठ प्राणी जिकीर गर्ने मान्छेले भने फरक स्वभावको विकास र अभ्यास गर्दै आइरहेको छ । पूर्वराजा वीरेन्द्रले तुलना गर्नुलाई जायज नभने पनि हाम्रो समाजमा यस्ता तुलना भइरहेका हुन्छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

केपी शर्मा ओली सरकारबाट बाहिरिएसँगै नयाँ प्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहण भएको छ । सामाजिक सञ्जालहरूमा ओली र देउवाको तुलना हुन थालेको छ । यो क्रम यसअघि पनि चलिरहेकै थियो ।

जतिबेला ओलीका विभिन्न क्रियाकलापहरुको प्रारम्भिक टिप्पणी गर्दै कतिपयले उनलाई ‘भष्मासुर प्रवृत्ति’को संज्ञा दिइरहेका थिए, त्यतिबेला प्रमुख प्रतिपक्षी दलको हैसियतमा देउवा संवैधानिक निकायको नियुक्तिमा भागबण्डा खोजिरहेका थिए । केही समय अगाडिसम्म ओली र देउवा सँगसँगै थिए । संसद र सडकमा नभेटिने प्रमुख प्रतिपक्षी दलका नेता बालुवाटारतिर भेटिन्थे ।

जब ओली ‘धेरै नै’ अगाडि बढ्दै गए, तब देउवा हच्किए । नेकपाको विभाजन र एमालेभित्रको विवादले ओली बालुवाटारदेखि बालकोटसम्मको यात्रा गर्न बाध्य भएपछि देउवा अहिले प्रधानमन्त्रीको कुर्सीमा उक्लिएका छन् । योसँगै प्रतिपक्षी देउवा सत्ता पक्ष बनेका छन् र सत्तापक्ष ओली प्रतिपक्षी शक्ति बनेका छन् ।

देउवाले प्रतिपक्षी हुँदा कस्तो राजनीतिक व्यवहार देखाए र ओली प्रतिपक्षी भएपछि कस्तो राजनीतिक व्यवहार देखाउँछन्, यसको पनि तुलना हुने नै छ । त्यसो त, देउवाको सपथग्रहण समारोहमा अनुपस्थित भएर ओलीले प्रारम्भिक सन्देश दिइसकेका छन् ।

कुरोको कुरा

बोल्ने कुरामा ओली ‘खप्पीस’ छन् । लोक प्रचलनका उखान टुक्काहरूको उपयुक्त प्रयोग र प्रभावकारी प्रस्तुतीकरण ओलीका विशेषता हुन् । तर देउवाबाट यसरी मनोरञ्जनात्मक शैलीमा कुराकानी सुन्न पाइने छैन ।

पञ्चायतविरुद्धको आन्दोलनका क्रममा पाएको यातनाका कारण उनको जिब्रोमा समस्या पनि छ । त्यसैले उनीहरुको बोलीमा समानता छैन । त्यसैले सामाजिक सञ्जालमा ओली र देउवाका बारेमा विभिन्न बिम्बहरू बनेका छन् ।

कांग्रेस र कम्युनिष्ट

दुवै नेताको बीचमा चिनियाँ पर्खाल नै उभिएको छ विचारधाराको । ओली पाँच दशकभन्दा लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी छन् । त्यो भन्दा लामो समयदेखि देउवा राजनीतिकमा संलग्न छन् । प्रजातान्त्रिक विचारधारा उनको आदर्श हो ।

यद्यपि पार्टी र नेता कार्यकर्ताको भीडमा दुवै पार्टीका नेता कार्यकर्ता आचरण र व्यवहारका दृष्टिले छुट्याउन नसकिने गरी मिसिएका छन् । बिपीको प्रजातान्त्रिक समाजवाद मान्ने देउवा र कम्युनिष्ट समाजवादको पक्षपाती ओलीका व्यवहारहरुले भने समाजवाद पछ्याएको मानिँदैन । शिक्षा र स्वास्थ्यमा निजीकरणमा दुवैको विमति छैन भने उदारवादको शक्तिशाली हावाले दुवैलाई हल्लाइरहेकै छ ।

‘तदर्थवादी’ देउवा, दृढ ओली

व्यक्तिगत व्यवहार नियाल्दा देउवा अलि ‘होस्ल्याङ्गे’ लाग्छन् । योजनावद्ध ढंगले नचल्ने र जे आउँछ, त्यो टर्दै जान्छ भन्ने उनको व्यवहार देखिन्छ । तर, ओलीमा भने मनमा दृढ योजना बनाउने र त्यसलाई गरेरै छाड्छु भन्ने स्वभाव छ ।

जस्तो कि केही समय अगाडिसम्म देउवा विपक्षी गठबन्धन बनाउने सोचमा थिएनन् । कम्युनिष्टहरू फुटेको बेला नयाँ चुनाव गर्दा कांग्रेसलाई फाइदा हुने उनको बुझाइ थियो । पुस ५ गते ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपछि अरु कांग्रेसजन ‘प्रतिगमन’ विरुद्ध सडक संघर्ष गरिरहँदा उनी चुनावको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिइरहेका भेटिन्थे । तर, उनी केही समयको मिहिनेतमै प्रधानमन्त्रीको कुर्सीमा पुगे ।

देउवा र ओली आन्तरिक लोकतन्त्रको अभ्यासमा कमजोर खेलाडी हुन् । यसको प्रभाव सरकार सञ्चालनमा पनि पर्नेछ । गठबन्धन सरकार चलाइरहेका देउवालाई ओलीलाई जति सुविधा हुनेछैन ।
तर, ओली भने अलि धेरै सुनियोजित योजनामा चलिरहेको घटनाक्रमहरुलाई केलाउँदा निष्कर्ष निकाल्न सकिन्छ । पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति बनाउने, दोस्रोपटक दोहोर्याउने घटनादेखि सभामुखमा अग्नि सापकोटालाई रोक्ने प्रयाससम्म उनको एउटै उद्देश्यको निरन्तरता पाउन सकिन्छ ।

आन्तरिक लोकतन्त्र : दुवै उस्तै

नेपाली कांग्रेसभित्र देउवाले पार्टीभित्रको लोकतन्त्र अवरुद्ध गरेको आरोप लाग्ने गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल देउवाले आफू पराजित हुने डरले भातृ संगठनहरुदेखि पार्टीकै महाधिवेशनसम्म रोकिरहेको आरोप लगाउँदै आएका छन् । कांग्रेसलाई लोकतन्त्रको पर्यायवाची भनेर अर्थ्याउने गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्म आन्तरिक लोकतन्त्रमा कमजोर देखिए ।

एमालेभित्र ओलीका पछिल्ला गतिविधिहरू त्यस्तै छन् । हालसालै बालुवाटारमा बोलाइएको केन्द्रीय समितिको बैठकमा सहभागी हुन हलतिर हिंडिरहेका ओलीलाई वामदेव गौतम लगायतका नेताहरुले गेटमा लाइनमा बसेर स्वागत गरेको तस्वीर बाहिरिएको थियो । बैठक आफैं चलाउने, प्रस्ताव र निर्णय पनि आफैं सुनाउने ओलीको शैली हेर्दा उनी कस्तो पार्टी बनाउन/चलाउन चाहन्छन् भन्ने प्रश्न जन्मिएको छ ।

यसरी हेर्दा, देउवा र ओली आन्तरिक लोकतन्त्रको अभ्यासमा कमजोर खेलाडी हुन् । यसको प्रभाव सरकार सञ्चालनमा पनि पर्नेछ । गठबन्धन सरकार चलाइरहेका देउवालाई ओलीलाई जति सुविधा हुनेछैन ।

लोकतन्त्र

देउवा र ओली दुवै लोकतन्त्रका लागि संघर्ष गरेका नेता हुन् । हिरासतमा देउवाले पाएको यातनाको श्रृङ्खलाहरुको विभिन्न किस्सा नै छन् ।

त्यस्तै, ओली आफू लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको बारम्बार दोहोर्याउँछन् । दोस्रोपटक प्रधानमन्त्रीबाट बिदा हुँदै गर्दा देशवासीको नाममा गरेको सम्बोधनमा उनले यसबारे पटक–पटक आफ्ना विगत सम्झाउने प्रयास गरे ।

तर, दुवै नेताहरू लोकतन्त्रप्रतिको आफ्नै प्रतिवद्धतामा त्यति इमान्दार देखिएनन् । आफ्नो तेस्रो कार्यकालमा देउवाले प्रजातन्त्रलाई दरबारमा लगेर बुझाए । ओलीले आफ्नो सत्ता जोगाउन त दुई–दुई पटकसम्म संसद विघटन गरिदिए । ओली लोकतन्त्रप्रति कति प्रतिवद्ध रहे ? यसको जवाफ– दोस्रोपटकको संसद विघटन बदर गर्दा सर्वोच्च अदालतको फैसलामा उल्लेख गरिएकै छन् ।

यसरी हेर्दा दुवै नेताहरू लोकतन्त्रको कुरा गर्न पनि नछाड्ने तर यसको आधारभूत मूल्य मान्यतालाई खासै नपछ्याउने समूहमा पर्छन् । लोकतान्त्रिक राजनीतिक संस्कार विधि र नीतिको समष्टि हो । यी दुवै कुरामा यी दुवै नेताहरू पटक–पटक चुकेका देखिन्छन् ।

शासकीय चरित्र

सुशासन दुवै नेताको मन्तव्यमा महत्वपूर्ण प्राथमिकतामा पर्छन् । तर व्यवहारले त्यस्तो पुष्टि गर्न सकेको छैन । दुवै नेता यो सवालमा परीक्षित हुन् । दुवै नेताको शासनकालमा केही काण्डहरू जोडिएर आएका छन् । बोली र व्यवहारबीचको अन्तरले दुवै नेताले आफ्नो विश्वसनीयताको ग्राफ घटाएकै छन् । सरकारबाट बाहिरिएका ओलीसँग यो आरोपलाई गलत सावित गर्ने अवसर हाललाई गुमाइसकेका छन् । देउवाले के बोल्छन् भन्दा पनि अब के गर्छन् भन्ने कुराले यी आरोपहरुको जवाफ दिनेछ ।

ओलीको विकल्प देउवा कसरी ?

ओलीको कुर्सीमा देउवा बस्न आउँदा ओलीको उचित विकल्प देउवा कसरी हुन् भन्ने प्रश्न उठिरहेको छ । तर यी दुईमध्ये एक व्यक्ति छनौट वा व्यक्तिप्रतिको पक्षधरताको विषय भने होइन । यो व्यक्ति–व्यक्तिबीचको लडाइँ नै होइन । यसलाई प्रवृत्ति र प्रक्रियाका लागि संघर्षको रुपमा बुझ्नुपर्छ । लोकतन्त्रमा विधि, पद्धति र प्रक्रियाबाट आउने व्यक्ति स्वीकार्य हुन्छन् । यसरी आउने व्यक्ति मन नपरे व्यक्तिलाई गाली गर्न शक्ति, विधि र पद्धति फेर्न लगाउनु उचित हुन्छ ।

यो प्रश्नसँग लोकतन्त्र, संविधानवाद, विधिको शासन, शक्ति पृथकीकरण र संसदको पूर्ण कार्यकाल लगायतका प्रश्नहरुसँग जोडिएका छन् । यी सवालमा देउवाले ओलीलाई नै पछ्याए भने उनलाई काँध थाप्नेहरुलाई जवाफ दिन मुस्किल हुनेछ भने देश पुनः उही गोलचक्करमा फस्नेछ । देउवालाई राजनीतिक नैतिकता र संवैधानिक नैतिकता दुवै बचाएर अगाडि बढ्नुपर्ने चुनौति छ । अन्ततः ‘देउवा’ अरु केही हुन नसके पनि ‘ओली’ होइनन् भन्ने पुष्टि गर्न सके पनि नागरिकले अर्को निर्वाचनसम्म ढुक्कसँग कुर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *